काठमाडौं- दुई दिन यताको अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीले निजी क्षेत्रका १८ वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले हालसम्म इप्पानलाई प्राप्त जानकारी अनुसार १८ वटा भन्दा बढी आयोजनाहरुमा क्षति पुग्दा एक अर्ब रुपैयाँ भन्दा बढीको नोक्सानी भएको बताए ।
उनले विगतको भन्दा फरक र ठूलो बाढी आएको कारण पनि जलविद्युत आयोजनाहरुमा बढी क्षति भएको बताए । जलविद्युत आयोजनाको पावर हाउस, हेडवक्स र सामानहरु बगाउनुका साथै सडक पूर्वाधारबाट विच्छेद भएको छ ।
बाढीको कारण कुनै आयोजनामा धेरै क्षति नभए पनि आयोजना जाने पहँुच मार्ग बन्न कम्तीमा ६ महिना लाग्नेगरी क्षति भएको अध्यक्ष कार्कीले उल्लेख गरे ।
उनका अनुसार धेरै जलविद्युत आयोजनाहरु लागत बढ्ने र समयमा सम्पन्न हुन नसक्ने अवस्थामा पुगेको छ । सरकारले विगतमा निजी क्षेत्रलाई दिएको सहुलियतहरुलाई निरन्तरता दिँँदै जलविद्युत व्यवसायीहरुलाई राहत दिन जरुरी रहेको बताए ।
बाढीले मान्डु हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको वागमती साना जलविद्युत आयोजना, २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना प्रभावित भएको छ ।
पाँचथरमा रहेको तल्लो हेवाखोला जलविद्युत आयोजनामा गत वर्षको बाढीबाट पनि प्रभावित भएको थियो । यो पटक पनि पावर हाउस डुबानमा परेको छ ।
पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनामा क्षति पुगेको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएको हो ।
साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको हेडवक्र्समा क्षति पुगेको छ । सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षति पुगेको छ ।
सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रशारणलाइनमा क्षति पुगेको छ । फेमे खोला जलविद्युत आयोजना (१ मेगावाट) को बाँध र विद्युतगृह पूणर्रुपमा क्षति पुगेको छ ।
सिउरीखोला जलविद्युत आयोजना (५ मेगावाट) को टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ । सुपरन्यादी जलविद्युत आयोजना (४० मेगावाट) को पहुँचमार्गमा क्षति पुगेको छ ।
इलेप खोला तातोपानी जलविद्युत आयोजना (२५ मेगावाट) को पहुँच मार्गमा ठूलो क्षति पुगेको छ । माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना (२१६ मेगावाट)को क्याम्प हाउस र पहुँच मार्गमा क्षति पुगेको छ । आयोजनाको ३ वटा कन्टेनर बगाएको छ ।
हेवाखोला जलविद्युत आयोजना (१० मेगावाट)को पहुँचमार्गमा क्षति पुगेको छ । सभाखोला बी जलविद्युत आयोजना (१५.१ मेगावाट) पहुँचमार्ग,पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको छ ।
सुपर त्रिशुली जलविद्युत आयोजना ( १०० मेगावाट) को २ वटा स्काभेटर,२ वटा लोडर र ३ वटा ट्रिपर बगाएको इप्पानले बताएको छ ।