हेटौंडा । बागमती प्रदेश सरकारमा सत्ता समीकरण फेरिएसँगै मन्त्रालयहरूको जिम्मेवारी पनि पुनः बाँडफाँट गरिएको छ। नेकपा एमालेका मन्त्रीहरूले सरकारबाट बाहिरिएपछि रिक्त भएका मन्त्रालय कांग्रेसका मन्त्रीहरूलाई सम्हाल्ने जिम्मेवारी दिइएको हो।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संविधानको धारा १६८ (२) अनुसार गठित मन्त्रिपरिषद्को कार्यविभाजन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्। सोही सिफारिसअनुसार नयाँ जिम्मेवारी तोकिएको हो।
यसअघि सहकारी विषय हेर्दै आएकी मन्त्री विनु रायमाझीलाई अब भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन विषय हेर्दै आएका सुरेश श्रेष्ठले सोही मन्त्रालयको पूर्ण जिम्मेवारी सम्हाल्ने भएका छन्। युवा तथा खेलकुद विषय हेर्दै आएकी उर्मिला नेपाललाई कृषि, पशुपन्छी तथा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
एमालेबाट मन्त्री रहेका डा.दिनेशचन्द्र देवकोटा, मधुसुदन पौडेल र विन्दु श्रेष्ठसहितका मन्त्रीहरूले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्रालयहरू रिक्त बनेका थिए।
यससँगै मुख्यमन्त्री बानियाँले थप कार्यविभाजन गर्दै शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय तथा कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकेका छन्।
मुख्यमन्त्रीको कार्यालयका अनुसार सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउने उद्देश्यले मन्त्रालयहरूको नयाँ कार्यविभाजन गरिएको हो।





































