काठमाडौं । नेपालको अर्ग्यानिक कृषि क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने तयारीमा सरकार अघि बढेको छ। प्रधानमन्त्री बालेन शाहले अर्ग्यानिक उत्पादनको विकासका लागि सरकार आवश्यक नीतिगत र संस्थागत सहयोग गर्न तयार रहेको स्पष्ट गर्दै नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सिंहदरबारमा अर्ग्यानिक एसोसियसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्रीले रासायनिक मल र विषादीको प्रयोग घटाएर प्राङ्गारिक खेती विस्तार गर्ने नीति सरकारले अघि बढाउने बताए। निजी क्षेत्र र सहकारीमार्फत उत्पादन हुने प्राङ्गारिक मल उद्योगलाई अनुदानको दायरा बढाउने विषयमा पनि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।

अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण विदेशमा गर्दा अत्यधिक खर्च लाग्ने भएकाले त्यसलाई नेपालमै उपलब्ध गराउने व्यवस्था गर्न व्यवसायीहरूले माग गरेका थिए। उनीहरूले रोकिएको ७५ प्रतिशत प्रमाणीकरण अनुदान पुनः सञ्चालन गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

सरकारले अब अर्ग्यानिक कृषि, उत्पादन, प्रमाणीकरण र निर्यातलाई एउटै रणनीतिमा जोड्ने संकेत दिएको छ। यदि घोषणा कार्यान्वयनमा परिणत भयो भने नेपाली अर्ग्यानिक उत्पादनले अन्तर्राष्ट्रिय बजारमा नयाँ अवसर पाउने अपेक्षा गरिएको छ।