काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा नेपाल एक स्थान तल झरेको छ । 

यसअघि १६ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा १७ औं स्थानमा झरेको हो । आईसीसी विश्वकप लिग २ मा यसै साता क्यानडामा तीन खेल हारेपछि नेपालको वरीयता खस्किएको हो ।

OM Sai Pathibhara Hospital

नामिबिया तीन स्थान तल झरेर १८ औं स्थानमा पुगेको छ भने ओमान एक स्थान तल झर्दै १९ औं स्थानमा छ । 

ओडीआई वरीयतामा युएई सबैभन्दा पुछार २० औं स्थानमा छ । अमेरिका एक स्थान सुधार गर्दै १६ औं स्थानमा छ भने क्यानडा चार स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ ।

यस्तै ११ औं स्थानमा स्कटल्यान्ड, १२ औं स्थानमा आयरल्यान्ड , १३ औं मा जिम्बावे र १४ औं स्थानमा नेदरल्यान्ड्स यथावत छन् । 

यस पटकको वरियतामा पनि भारत शीर्ष स्थानमा कायम रहँदा अष्ट्रेलिया दोस्रो, दक्षिण अफ्रिका तेस्रो, पाकिस्तान चौथो र न्युजिल्यान्ड पाँचौं स्थानमा छ । 

यसैगरी श्रीलंका छैटौं, इंग्ल्यान्ड सातौं, बंगलादेश आठौं, अफगानिस्तान नवौं र वेस्ट इण्डिज दशौं स्थानमा छन् ।