काठमाडौं–  दुर्गा प्रसाईंलाई प्रहरीले 'विद्युतीय कारोबार ऐन २०६३को दफा ४७ को कसुर' मा पक्राउ गरेको हो । एक जना महिलाको उजुरीपछि अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले उनीमाथि अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना र पाँच वर्षसम्म कैद हुन सक्ने कसुरमा अनुसन्धान भइरहेको जनाएको छ।

OM Sai Pathibhara Hospital

नेपाल प्रहरीको साइबर ब्यूरोकाम प्रवक्ता दीपकराज अवस्थीले 'विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७को' कसुर गरेको एक जना महिलाको उजुरीपछि अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए । 

ऐनको उक्त दफामा विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्नेलाई अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ।

'कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ,'  उक्त दफामा भनिएको छ।

तर प्रसाईँविरुद्ध मुद्दा चलाउने वा नचलाउने निर्णय अनुसन्धानपछि मात्रै गरिने प्रहरीले जनाएको छ। प्रसाईँलाई अनुसन्धानका लागि म्याद थप गर्न आइतबार नै जिल्ला अदालत काठमाण्डूमा उपस्थित गराउने तयारी भइरहेको छ।

पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईंआफ्ना अभिव्यक्तिका कारण विवादमा आइरहने गरेका छन्। प्रसाईंलाई विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ।

एक साताअघि परेको उजुरीपछि उनलाई पक्राउ गर्न प्रहरीले केही दिनअघि नै काठमाण्डू जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। आफूलाई पक्राउ गर्न प्रहरीले अनुमति लिएपछि प्रसाईं घरबाहिर ननिस्किएको विवरण आएका थिए।

प्रहरीले उनलाई मध्यपुर थिमीमा रहेको उनको घरभित्रै प्रवेश गरेर आइतबार अपराह्न नियन्त्रणमा लिएको थियो।