काठमाडौं- धितोपत्र बोर्डले ६० लाख लगानीकर्ताको लगानी संरक्षण हुनेगरी जिम्मेवार भएर काम गर्नुपर्ने सांसदहरुले बताएका छन् ।

आज प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै सांसदहरुलेधितोपत्र बोर्डले विगतमा गरेका कामले लगानीकर्ताको विश्वास गुम्दै गएको भन्दै जिम्मेवार भएर बोर्डले लगानीकर्ताको विश्वास जित्न सक्नुपर्ने बताएका हुन् । 

OM Sai Pathibhara Hospital

धितोपत्र बोर्डलाई राज्यले विश्वास गरेर पुँजीबजार लगानीकर्ताको हित र संरक्षण गरी लगानी सुरक्षित गर्ने नियामक निकायका रुपमा लिएको भन्दै त्यही अनुसार जिम्मेवार हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।  

सांसदहरुले धितोपत्र बोर्डको ऐनमा तजबिजी बढी भएकाले पनि धेरै बेतिथिहरु आउने गरेको उल्लेख गर्दै अब तजबिजी भन्दा पनि ऐन र नियमावलीले लिएका निश्चित अधिकारबाट चल्न समितिले निर्देशन दिनुपर्ने सुझाव समेत दिएका छन् । 

समिति बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद एवम पूर्वअर्थमन्त्री वर्षमान पुनले आईपीओ निकाल्दा चलखेल हुन नहुने विषयमा धितोपत्र बोर्ड  जिम्मेवार हुनुपर्ने बताए । 

उनले लगानीकर्ताले नियामक निकायप्रतिको विश्वास गुम्नु भनेको राज्यप्रतिको विश्वास गुमाउनु भएको उल्लेख गरे । 

यस्तै नेकपा एमालेका सांसद पदम गिरीले पनि धितोपत्र बोर्ड अर्थ समितिको क्षेत्राधिकार भित्र पर्ने भन्दै अर्थ समितिले नीतिगत कुराहरुमा छलफल गर्ने र लेखा समितिले अनियमितता विषयमा हेर्ने भएकाले त्यही अनुसार निर्देशन भएको देखिएको बताए । 

नियमावली नै संशोधन गरेर पुनःमूल्याङ्कन गर्ने कम्पनीहरुको मूल्य बढाएर आईपीओ जारी गर्दा लगानीकर्ता मर्कामा पर्ने गरेको देखिएको उनको धारणा रहेको थियो । 

नेपाली काँग्रेसका सांसद विनोद चौधरीले धितोपत्र बोर्ड र नेप्सेको रिफर्म आवश्यक रहेको सुझाव दिँदै अन्तर्राष्ट्रिय नियमायक निकायहरुले अपनाएका अभ्यास र कानून हेरेर सेबोन र नेप्सेलाई रिफर्म गर्ने नीति बनाउन आवश्यक रहेको बताए । 

उनले पुँजीबजार समग्र देशको अर्थतन्त्र विस्तारको औजार भएको दाबी समेत गरे । पुँजीबजारमा सुधारको लागि लगानी संरक्षण र सुरक्षित गर्ने नीति आवश्यक रहेको उनको तर्क छ ।