काठमाडौं–सुदूरपश्चिम प्रदेश सरकारले आगामी सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते प्रस्तुत बजेटमा सामान्य परिमार्जन गर्दै नयाँ बजेट सार्वजनिक गर्ने जानकारी दिए । 

मुख्यमन्त्री शाहले बजेटका नीति कार्यक्रम यसअघि सदनबाट पारित भइसकेकाले सोही आधारमा परिमार्जित बजेट ल्याउन लागिएको स्पष्ट पारेका छन् । सत्ता समीकरणको परिवर्तनसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि, तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेट पारित नभई अलपत्र परेको थियो । जसकारण प्रदेश बजेटविहीन अवस्थाको समस्या चलिरहेको छ । 

OM Sai Pathibhara Hospital

सरकारको राजस्व सङ्कलन र खर्च रोकिएका छन् र बजेट शून्यताको स्थिति कायम रहेको छ । नयाँ सरकारले अध्यादेशमार्फत राजस्व सङ्कलन कार्य सञ्चालन गरिसकेको भए पनि कर्मचारीको तलब, भत्ता, र सञ्चालन खर्चमा दुई महिनादेखि समस्या भइरहेको छ । वर्तमान सरकारले रु ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।