काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज पाराओलम्पिक काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान प्रदान गर्दै उनले क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन लगायतका खेलहरुमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरिरहेको बताएका हुन् । 

OM Sai Pathibhara Hospital

ओलीले भने, ‘खेल क्षेत्रका सबै विधाहरुमा हामी यसैगरी उन्नति प्रगति गर्दै जानेछौँ आगामी दिनमा । र बितेका केही वर्षहरुमा हामीले वास्तवमै उल्लेख्य प्रगति गरेका छौँ । चाहे क्रिकेटको सन्दर्भमा होस्, फुटबलको सन्दर्भमा, भलिबल, टेबलटेनिसको सन्दर्भमा, ब्याडमिन्टनको सन्दर्भमा थुप्रै प्रगति गरेका छौँ ।’

ओलीले खेल क्षेत्रका सबै विधाहरुमा अझै उत्कृष्ट प्रगति गर्दै जान खेलाडीहरुलाई आग्रह समेत गरे । 

उनले नेपालको अहिलेको खेल अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै अझै खेल विज्ञता, प्रविधिको विकास आवश्यक रहेको बताए ।  

सो अवसरमा प्रधानमन्त्री ओलीले ओलम्पिक पदक विजेता पलेशा गोवद्र्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान गरे । 

सरकारले डिजिटल माध्यमबाट गोवद्र्धनको खातामा उक्त रकम जम्मा गरेको हो । 

यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।