काठमाडौं- ललितपूरमा जारी एन्फा महिला लिगमा विभागीय टीम त्रिभुवन आर्मी क्लव विजयी भएको छ । 

आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले वागमती प्रदेशलाई ३-० गोल अन्तरले पराजित गरेको हो । 

OM Sai Pathibhara Hospital

जीतसँगै आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको २६ औं मिनेटमा विमला चौधरीले गरेको गोल मार्फत आर्मीले अग्रता बनाएको थियो । 

पहिलो हाफमा १-० ले पछि परेको बागमती दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । ६१ औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन् । 

त्यसपछि वागमतीकी सञ्जु थिगंले आत्मघाती गोल उपहार दिँदा आर्मीले बागमतीलाई तीन शुन्यले पराजित गर्‍यो । 

आजको खेलबाट आर्मीले तीन अंक जोडेको छ । आर्मी ४ खेलबाट ९ अंक जोड्दै दोस्रो स्थानमा उक्लियो । पराजित वागमती ३ अंकका साथ सातौं स्थानमा छ ।