काठमाडौं- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानून बनाउन सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको समितिको बैठकले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानूनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो ।
समिति सभापति अम्मरबहादुर थापाले आफ्नो अनुकुलतामा कार्यविधि बनाएर अघि बढ्ने कुरा राम्रो नभएको मन्त्रालयले तत्काल कानूनको व्यवस्था गरेर अघि बढ्न निर्देशन दिए ।
उनले कानूनको समस्या छ भने ड्राफ्ट गरेर समितिमा ल्याउन भन्दै फास्ट ट्रयाकमा कानून बनाउने गरी समिति अघि बढ्ने बताए ।
उनले भने, ‘खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालयले तत्काल कानूनको व्यवस्था गरेर अघि बढ्नुपर्छ । एउटा छुट्टै कानूनको विपरित नियमावली, कार्यविधि बनाएर अगाडि बढ्नेकुराले खेलकुदलाई आफ्नो अनुकुलको कार्यविधि बनाएर खेलकुदलाई चलाउने कुरा यो राम्रो होइन । गैरजिम्मेवार नै हुन्छ ।’
सभापति थापाले खेलकुदलाई कसरी प्राथमिकता दिने भन्नेबारेमा समिति नै गम्भीर रहेको भन्दै खेलकुदको कानून नै चाहिएको छैन झैँ गरी अहिले समितिमा कुनैपनि कानूनहरुको बारेमा चर्चा नभएकोप्रति आपत्ति जनाए ।
बैठकमा नेकपा एमालेका सांसद छविलला विश्वकर्माले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समय भित्रै सम्पन्न गर्न जोड दिए ।
उनले समयमै हुन नसक्ने हो भने निश्चित समय निर्धारण गरी सहज रुपमा खेलकुदका गतिविधि अघि बढाउन सकिने बताए ।
यस्तै समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले खेलकुद क्षेत्रको महत्व बढ्दै गइरहेको भन्दै सिमित श्रोत र साधनका बावजुत पनि नेपाली खेलाडीहरुले विकास र राष्ट्रको गौरव बढाउँदै आएको जिकिर गरिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले युवाहरुलाई समेट्ने गरी, युवालाई प्रोत्साहन दिनेगरी र युवालाई देशभित्रै रोजगारीको सुनिश्तिता हुनेगरी युवा स्वरोजगार कार्यक्रमलाई अघि बढाउन सुझाव दिइन् ।
उनले युवाका समस्याहरुको सूचि बनाइ समाधान गर्न मन्त्रालयलाई आग्रह समेत गरिन् ।