मुम्बई(एजेन्सी) । अभिनेता सलमान खान र निर्माता तथा निर्देशक साजिद नाडियाडवाला एकपटक पुनः फिल्म ‘सिकन्दर’मार्फत दर्शकमाझ आउँदैछन् । उनीहरुको जोडीले कैयौं ब्लकबस्टर फिल्म दिएका छन् । यो अवस्थामा ‘सिकन्दर’ पनि ब्लकबस्टर हुने अनुमान लगाउन थालिएको छ । 

सलमान र साजिदले ‘सिकन्दर’को सुटिङ सुरु गरिसकेका छन् । एआर मुरुगादासको निर्देशन रहने फिल्ममा सलमान ‘न्यू एङ्ग्री यङ म्यान’का रुपमा देखिँदैछन् ।

फिल्ममा सलमानले एक ठूलो सामाजिक गिरोहको सामना गर्नेछन् । ‘सिकन्दरको अर्थ हो शक्ति र सलमान खान समाजसँग जोडिएको एक ठूलो गिरोहलाई परास्त गर्न पुरा शक्ति लगाउनेछन् । यो एक यस्तो प्लट हो, जसले सबैको हृदयलाई छुन्छ र निर्माता निश्चित रुपले कथा भन्ने तरिकालाई नयाँ स्वरुपमा दर्शकमाझ ल्याउँदैछन्’, फिल्म निकट स्रोतले भनेको छ ।

स्रोतका अनुसार फिल्ममा सलमानको अतीत क्रोध र रिसले भरिएको हुनेछ । उनी दर्शकको हृदय जित्नका लागि वर्तमान प्रणालीसँग लड्नेछन् । फिल्म सन् २०२५ को इदमा रिलिज हुनेछ ।