काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताएका छन् ।
ललितपूरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आज पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै देउवाले यस्तो बताएका हुन् ।
उनले खेलाडीहरु राष्ट्रको गहना भएको उल्लेख गर्दै खेलाडीहरुको सम्मान गर्न सक्नुपर्ने बताए । देउवाले नेपाली काँग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको भन्दै आगामी दिनमा अझ बढी पहलकदमी लिने विश्वास व्यक्त गरे ।
उनले भने, ‘पलेशा गोवद्र्धनजी जो हुनुहुन्छ, उहाँले अत्यन्तै नेपाललाई काँस्य पदक जिताउनु भयो । जिताउन सफल हुनुभएकोमा सबै नेपालीहरुको तर्फबाट, हाम्रो पार्टीको तर्फबाट हार्दिक बधाई । भोलिका दिनमा अझ बढी पदक प्राप्त गर्ने सफलता मिलोस् । नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको काँस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको छ ।’
सभापति देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको काँस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै गोवद्र्धनको प्रशंसा समेत गरे ।
यस्तै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न उनीहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारी दिनुपर्ने बताएका छन् ।
उनले १३ औं सागमा सहभागी २०७ जना खेलाडीमध्ये सय बढी खेलाडीहरु विदेश पलायन भइसकेको भन्दै नेपालमा खेलकुदको सम्भावना रहेपनि खेलाडीहरु विदेश पलायन हुने अवस्था रहेको उल्लेख गरे ।
उनले खेलाडीलाई देशमा सुविधा दिनसके देशमै रहने वातावरण बन्ने जिकिर गर्दै सबैले खेलकुदलाई बढी प्राथमिकता दिन आग्रह गरे ।
नेपाली काँग्रेसले सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार र काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई पाँच लाख नगदसहित सम्मानपत्र प्रदान गरेको छ ।