काठमाडौँ । नेपाली फिचर फिल्म ‘एक्लो’को टिम यतिबेला अपर मुस्ताङमा छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको छ ।

छायांकनस्थलबाट फिल्मका केही तस्बिरहरू प्राप्त भएका छन् । तस्बिरहरूमा फिल्मको सेट निर्माणको काम भइरहेका छ भने फिल्मका निर्देशक प्रदीप शाही, छायाकार बाबु श्रेष्ठ, हलिउड कलाकार जेमी बेकमलगायतको व्यस्ततालाई देखाइएको छ। 

OM Sai Pathibhara Hospital

कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका हुन् । करिब एक हप्ता अघि काठमाडौँको भद्रकालीमा फिल्मको शुभ मुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण टिम मुस्ताङ गएको थियो ।

फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजका अनुसार मुस्ताङमा ३० देखि ३५ दिनसम्म छायाङ्कन गरिने छ । हाल अपर मुस्ताङको लोमान्थाङमा छायाङ्कन भइरहेको फिल्म छुसेल, छुसाङ, कागवेनी, जोमसोमलगायतका स्थानमा पनि खिचिनेछ ।

मुस्ताङको छायाङ्कन पश्चात भने निर्माण टिमले १५ दिनको समय तालिका मिलाएर काठमाडौंमा छायाङ्कन गर्ने छ । फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहनेछ ।

फिल्मका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन् । 

बाबु श्रेष्ठको छायाङ्कन रहने यस फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का रहेका छन् ।