काठमाडौं- कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चोभारको पुष्प तथा फलफूलको थोक बजारको निर्माण दशैँसम्म पूरा गर्न निर्देशन दिएका छन् । 

शुक्रवार काठमाडौंको चोभार स्थित निर्माणाधीन पुष्प तथा फलफूल थोक बजारको निरीक्षण गर्न पुगेकन मन्त्री अधिकारीले बजार निर्माण कम्पनीले निर्माण गर्न बाँकी काम तत्काल पूरा गर्न निर्देशन दिएका हुन् । 

OM Sai Pathibhara Hospital

मन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र निर्माण कम्पनीले निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने बताए । 

उनले सम्झौता अनुसार काम नसकिए कानून अनुसार कारबाही हुने संकेत गर्दै विगतमा के भयो भन्दा पनि अब दशैँ भन्दा अघि भवन सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । 

उनले भने,‘मन्त्रालयको तर्फबाट हेर्छौं । चाँडो भन्दा चाँडो भवन हस्तान्तरण हुुनुपर्छ । अब ढिला हुँदैन भन्ने विश्वासमा जाऔं । विगतमा के भयो नगरौं । आगामी दिन दशैँसम्म भवन उद्घाटन गर्नुपर्छ । हामी कोही हल्लाको पछाडि नलागौं ।’

उनले पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै कृषि मन्त्रालयले त्यसका लागि आवश्यक सहजिकरण गर्नका तयार रहेको समेत बताए । 

चोभारमा पुष्प तथा फलफूलको थोक बजार बनाउन २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी करिव ३५ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । 

तर भवनको काम अहिलेसम्म पनि पूरा हुन सकेको छैन । अहिलेसम्म ११ औँ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी रहेको छ । 

तर भवनको काम निर्माण सम्पन्न गर्न अझै १३ प्रतिशत बाँकी रहेको छ । समयमा काम पुरा नहुँदा त्यसको लागत बढेर ४० करोड बढी पुगेको छ ।