काठमाडौं–नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा नयाँ नोटको सटही नगर्ने भएको छ । बैंकले विगतका वर्षहरूमा जस्तै यसपटक सफा र सुकिलो नोट सटही गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार, सफा नोट कहाँ, कैले, कसरी र कति सटही पाइन्छ भन्ने विषयमा बैंकले चाँडै सूचना जारी गर्नेछ ।

दसैँको मुखमा नयाँ नोटको सटही गर्दा ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था आउने भएकाले यसपटक यस्तो निर्णय गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईले बताए ।

OM Sai Pathibhara Hospital

उनका अनुसार, विगतका दसैँमा सटही गरिएका नोटको दुईदेखि झण्डै तीन गुणासम्म सुकिला नोट राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका ढुकुटीमा छन् । ती नोट ढुकुटीमा राखिराख्दा गल्ने, सड्ने, बिग्रने तथा कुहिने अवस्था सृजना हुनुभन्दा तिनै नोटको सटही व्यवस्था गर्नु उपयुक्त हुने भट्टराईको भनाइ छ ।

नेपाली नोटको कागज ‘कटन बेस्ड’ हुने र लामो समय प्रयोगविहीन भई ढुकुटीमा भण्डारण हुँदा ती नोटमा चिसो, ओस तथा अपर्याप्त हावा र प्रकाशका कारण ढुसी आउने गर्दछ । यस्तो हुँदा नोटको आयुसमेत घट्दै जाने भई पुनःप्रयोग गर्न अयोग्य हुन सक्दछ । साथै, बजारमा कारोबारका लागि नगद नोट जति धेरैको हातहातमा पुगेर बैंकमा फिर्ता आयो त्यति नै नोटको प्रभावकारी उपयोग भएको मानिन्छ ।

यसकारण नोटको छपाइ, भण्डारण, ओसारपसार र धुल्याउनेजस्ता बैंक नोट व्यवस्थापनका आधारभूत कार्यहरूलाई मितव्ययी एवंं प्रभावकारी बनाउनसमेत सुकिलो नोटको उपयोग बढाउनु आवश्यक रहेको निर्देशक भट्टराईले बताउनुभयो ।