काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले निजी अस्पतालहरुले पनि बीमा सुविधा दिनुपर्ने बताएका छन् ।
शुक्रवार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताए ।
उनले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरुमा बीमा सुविधा हुनुपर्ने बताए ।
त्यसको लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने मन्त्री पौडेलको तर्क छ । उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक-फरक हुनुपर्ने भन्दै कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बीमा व्यवस्थित गर्न नसकिने जिकिर गरे ।
उनले भने, ‘बीमा बोर्ड यति शक्तिशाली हुनुपर्छ की, मैले तिम्रो माध्यमबाट मेरोमा बीमा गर्नेहरुलाई स्वास्थ्य सेवा दिन लगाएको हो । तिमीले राम्रो दिएनौँ । अब म तिमीसँग गर्दिन अर्कैसँग गर्छु भन्न पाउनुपर्यो । बीमा बोर्डले रेगुलेट मात्रै गर्ने हो कार्यान्वयन गर्ने होइन । रेगुलेट गर्ने निकाय पनि एउटै । कार्यान्वयन गर्ने पनि एउटै । अनि कसरी व्यवस्थित हुन्छ ?’
मन्त्री पौडेलले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरुलाई आग्रह समेत गरेका छन् ।
हरेक दिन के-कति विपन्न नागरिकको उपाचार भयो भन्नेकुरा अस्पतालहरुले बेलुका सार्वजनिक गर्न आग्रह गरे ।
विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दापनि नीति बनाएर सोही अनुरुप पारदर्शी ढंगले सेवा दिनुपर्ने मन्त्री पौडेलको भनाई छ ।