काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन् । 

अरुण तेस्रो जलविद्युत आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’मा बोल्दै मन्त्री खड्काले समस्या देखाउने मात्र नभई समाधानमा केन्द्रित हुन निर्देशन दिएका हुन् । 

OM Sai Pathibhara Hospital

विजुली उत्पादन गर्ने समय एक दिनमात्र ढिला हुँदा पनि राज्यले करोडौँको घाटा बेहोर्नुपर्ने भन्दै मन्त्री खड्काले आयोजना र सिंगो मुलुकमा यसको प्रभाव पर्ने भएकाले समयमै सम्पन्न गर्न र देखिएका सानातिना समस्यालाई समाधान गर्न निर्देशन दिएका हुन् । 

ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म नेपालमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्य पूरा गर्न आयोजना, प्रमुख जिल्ला अधिकारी र लगानी बोर्डको योगदान महत्वपूणर् रहेको बताए । 

उनले स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनीसँग सहकार्य गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन् । 

‘आयोजनालाई अगाडि बढाउनका लागि कहाँ कहाँ अवरोध छन्, त्यससँग सम्बन्धित व्यक्तिहरू को को हुन्, त्यसको पहिचान गरेर प्रमुख जिल्ला अधिकारीले समाधान गर्न लाग्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु,’ उनले भने । 

स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि सरकारले समेत सहयोग गर्नै उनको भनाइ थियो । 

ऊर्जामन्त्री खड्काले अरुण तेस्रो जलविद्युत आयोजनालाई अगाडि बढाउने कुरामा प्रधानमन्त्रीको समेत चासो र चिन्ता रहेकाले यसलाई समयमै सम्पन्न गर्नुपर्ने बताए ।