काठमाडौं । नेपाली फिल्मको परिवेश बदल्ने भिजन लिएर दुई दशक पछि नेपाल फर्किएका निर्देशक दीपेन्द्र गौचनले नयाँ फिल्म ‘मिसिङः केटी हराएको सूचना’ घोषणा गरेका छन् । फिल्म आगामी कार्तिक ३० गते रिलिज हुनेछ ।

‘उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल’का निर्देशक गौचनले ट्राइ–सिटी पिक्चर्ससँगको सहकार्यमा यो फिल्मको घोषणा गरेका हुन् । गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने फिल्म निर्माण गर्ने लक्ष्य राखेको छ ।

OM Sai Pathibhara Hospital

निर्देशक गौचनका अनुसार फिल्ममा पहाडी समुदायका युवा र मधेसी समुदायकी युवतीको रहनसहन र मेलमिलापको बारेमा कथा कोरिएको छ । ‘फिल्मले तराई क्षेत्रको सौन्दर्य र संस्कृतिको विरुद्धमा रहेको पहाडी–मधेसी मेलमिलापको खोजी गर्छ’, फिल्मका लेखक र निर्मातासमेत रहेका निर्देशक गौचनले भने,‘ नेपाल फर्केर मैले धेरै जसो फिल्म पहाड र हिमाली क्षेत्रमा बनाइएको देखें । यी क्षेत्रहरू प्रतिष्ठित भएपनि म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थें । मेरो फिल्मले पारम्परिक र जातीय सीमानाहरू पार गर्ने, विविधताको बीचमा समानता खोज्ने कुराको प्रतिनिधित्व गर्दछ ।’

फिल्ममा सीताको भूमिकामा सृष्टि श्रेष्ठ छिन् भने रामको भूमिकामा नाजिर हुसेन रहेका छन्। त्यस्तै विलासको भूमिकामा संजय मिश्रा तथा अमितेश शाह(क्यामियो) टिकट बिक्रेताको भूकिामा छन् । यसबाहेक जनकपुरका स्थानीय कलाकारहरूले विभिन्न भूमिका निभाएका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा अमर महर्जनको छायांकन, निमेश श्रेष्ठको सम्पादन, अक्की थेक्पाको कला, श्रावल आरपीको साउण्ड डिजाइन र क्रिस मसन्डको संगीत छ ।