काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरुले आन्दोलन गरेको आरोप लगाएका छन् ।
काठमाडौंमा आज सहकारी पत्रकार समाजको १४ औं स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले बढी ब्याज खान खोज्नेहरुले नै सहरकारी पीडितहरुको अगुवाई गरेर आन्दोलन गरिरहेको उल्लेख गरेका हुन् ।
उनले सहकारी सबै खराब हुन् भनेर जनतालाई बुझाइएको भन्दै यसलाई चिर्न आवश्यक रहेको जिकिर गरे । कसैले स्वार्थ पूरा गर्न लागेका सहकारी देखाएर सबै सहकारी नराम्रो हो भन्ने भाष्य बनाउन खोजिएको मन्त्री अधिकारीको दाबी छ ।
मन्त्री अधिकारीले सरकारले सहकारीका समस्या समाधानको लागि सहकारी अगुवा र पीडित जनताका सुझाव लिएर काम अघि बढाइरहेको बताए ।
आन्दोलनरत सहकारी पीडितसँग भएको ८ बुँदे सहमतिमा सरकारले ७ वटा काम थालनी गरेको भन्दै मन्त्री अधिकारीले सहकारीको समस्या समाधान गर्न पीडित वचतकर्ता र सहकारीको अगुवासँग सरकारले छलफल गरिरहेको जानकारी समेत गराए ।
उनले सरकारले गठन गरेको सहकारी समस्या समाधान गर्ने समितिमा आन्दोलनरतले छुट्टै प्रतिनिधि खोजेको भन्दै ३१ हजार सहकारीका प्रतिनिधि राख्न नसकिने बताए ।