काठमाडौं । यही शुक्रबार रिलिज हुने फिल्म ‘देवी’लाई लिएर अभिनेत्री शिल्पा मास्केको दौडधुप तीब्र छ । फिल्ममा उनको अभिनयसँगै निर्माण पनि छ । 

शिल्पाका अनुसार फिल्मको स्कृप्ट लिएर आफूहरु धेरै निर्माता कहाँ पुग्दा कसैले पनि यो कमर्शियल फिल्म नरहेको भन्दै लगानी गर्न नमानेपछि फिल्म निर्माणमा आफैं अगाडि बढेको खुलाइन् । ‘स्क्रिप्ट तयार भएपछि हामीले केही निर्मातालाई भेट्दा यति संवेदनशील विषय छ, कमर्शियल फिल्म होइन भनेर लगानी गर्न इच्छा देखाउनुभएन । मलाई चाहिँ कन्टेन्टप्रति विश्वास भएकाले निर्माताको रुपमा अनुभव गर्न मन लाग्यो’, शिल्पा भन्छिन्, ‘निर्माताको जिम्मेवारी चुनौतीपूर्ण हुने रहेछ ।

OM Sai Pathibhara Hospital

शिल्पाले फिल्मको प्रचारमा हिँड्दा दिमाग धेरै ठाउँमा पुग्ने गरेको खुलाइन् । ‘फिल्म निर्माणको पहिलो अनुभव भएकाले धेरै सिक्न पाएँ । यो फिल्म व्यावसायिक रुपमा सफल भएमा आगामी दिनमा पनि फिल्म निर्माणमा निरन्तरता दिनेछु’, उनले भनिन् ।

शिल्पाले व्यापारका लागि फिल्ममा लगानी नगरेको बताइन् । ‘व्यापारिक हिसाबले हिसाबले क्राइम–थ्रिलर फिल्ममा लगानी गर्न गाह्रो छ । तर, यतिबेला महिला केन्द्रित र कन्टेन्टमुखी फिल्म रुचाइन थालिएको छ । त्यसैले हामीले सामाजिक सन्देशका लागि फिल्म निर्माण गरौं, मिहेनत गरेर राम्रो भए व्यापारिक रुपमा पनि सफल हुन्छ भन्ने हेतुले काम गरेका हौं’, उनले भनिन् ।

संजोग राईको निर्देशनमा निर्माण भएको फिल्म ‘देवी’ले बलात्कारको घटना र त्यसमा कानुनले पार्ने प्रभावको कथा उठान गरेको छ । फिल्ममा शिल्पाले बलात्कारको घटनाबारे रिपोर्टिङ गर्ने पत्रकारको भूमिका निर्वाह गरेकी छन् । उनलाई रिपोर्टिङ कसरी गरिन्छ भन्ने ज्ञान पहिला थिएन । यसैले एक दैनिक पत्रिकाकी महिला पत्रकारसँग भेट गरेर उनले फिल्मको छायांकनभन्दा अगाडि रिपोर्टिङको अनुभव सुनेकी थिइन् । त्यसले चरित्र निर्माण गर्न ठूलो सहयोग पुगेको उनले बताइन् ।

‘फिल्मको स्क्रिप्टमा बस्दा हामीले उठाएका बिषयवस्तुहरु पोलिटिकली ठीक हुन्छ कि हुँदैन भनेर छलफल गर्यौं । बलात्कारको तथ्यांकदेखि पत्रपत्रिकामा आएको लगभग सबै आर्टिकल संकलन गरेर गहिरोसित अध्ययन गर्यौं । अनि मात्रै हामीले ‘देवी’लाई सत्य घटनाबाट प्रभावित काल्पनिक फिल्मको रुपमा काम गरेका हौंं’, उनले भनिन् ।

‘हामीले पत्रपत्रिकाबाट जेजति घटनाहरु संकलन गर्यौं, त्यस घटनाका भिक्टीमलाई भेट्ने आँट भने गर्न सकेनौं । किनकी त्यो बिषय नै निकै संमवेदनशिल थिए । जसले गर्दा हामीले पत्रिकाका कटिङ्गहरु सिनेमामा प्रयोग गरेका पनि कुनैपनि घटनाका भिक्टीमको नाम फिल्ममा प्रयोग गरेका छैनौं । त्यसको कारण हामीले गरेका कामको फरक अर्थ नगागोस् र त्यो घटना दर्शकमा गिजोलियो अथवा कानुनी प्रभावित भयो भन्ने नलागोस् भन्ने कुरामा सचेत भएका थियौं’, शिल्पा भन्छिन् ।

यसो भन्दै गर्दा हामीले उठाएको विषष्वस्तु ठुलो माससम्म पुगोस र त्यसले यस्ता घटनाहरुलाई कसरी निर्मुलीकरण गर्न सकिन्छ भन्ने बहस चलोस भन्ने चाहाना रहेको उनी बताउँछिन् । हामीले पनि फिल्म आफ्नो बिचार दर्शकलाई लाद्नेभन्दा पनि बहसको रुपमा यस्ता बिषय उठ्न पर्छ भन्ने हिसावले निर्माण गरिएको शिल्पाले बताइन् ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा सिनेमा ‘देवी’ बनेका हो । यो सिनेमा निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह(निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।