काठमाडौं । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘वर एण्ड वधु’ हेर्न शनिबार काठमाडौंका हलमा दर्शकको चाप राम्रो देखियो । शनिबार बिहानैबाट नायिका आँचल शर्मा, नायक विवेक कर्माचार्य, निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार दिनेश काफ्ले लगायत हलमा पुगेका थिए । उनीहरु शनिबार बेलुकीको शोजमा दर्शक भेट्न बनेपा समेत पुगेका थिए ।

हलमा दर्शकले देखाएको मायाले नायिका आँचल शर्मा उत्साहित देखिइन् । उनले भनिन्–‘फिल्म हेर्न आउनुभएका दर्शकले यसको कथावस्तुदेखि सबै कुरा मन पराइदिनुभएको छ । यो नै ठूलो कुरा हो । दर्शकको यो मायाले उत्साहित छु ।’

OM Sai Pathibhara Hospital

यता, नायक विवेक कर्माचार्यले पहिले फिल्ममै दर्शकबाट पाएको साथ, हौसला र मायाले आफू निकै खुशी भएको बताए । आगामी दिनमा अझै मिहिनेत गरेर काम गर्ने विवेकको भनाई छ ।

निर्देशक मिलन चाम्सले फिल्मको सिरिजि बनाउने संकेत गरे । आगामी दिनमा पनि फिल्ममा दर्शकको फ्लो राम्रो भएको खण्डमा फिल्मको सिरिज पनि बन्न सक्ने उनको भनाई थियो ।

फिल्म हेरेका अधिकांश दर्शकले यसको संवाद ‘पानी खानु हुन्छ’लाई कण्ठै बनाएको पाइयो । अधिकांश दर्शक ‘पानी खानु हुन्छ’ भन्दै हलबाट निस्किएका थिए ।

फिल्ममा किरण केसी, कुसुम शर्मा, गरिमा शर्मा, विजु पार्की, रविन्द्र खड्का, विजय लामा लगायतका कलाकारहरुको पनि अभिनय छ ।

एलआरेक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा अमित रिजाल कार्यकारी निर्माताको रुपमा छन् । फिल्मको कथावस्तु, यसको दृश्य, कलाकारहरुको अभिनय र कमेडी पाटोलाई दर्शकले रुचाएका छन् । प्रदीप भारद्धाजले लेखेको फिल्मलाई सुदिप बरालले खिचेका हुन् ।