काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभमुहूर्त गर्दै फिल्म ‘पिताम्बर’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन बालाजुस्थित एनएफडीसी ल्याबबाट सुरु गरिएको हो ।

फिल्मकी निर्देशक कृषा चौलागाईले दोस्रो चरण छायांकनको पहिलो दिन अभिनेता प्रदीप खड्का र सौगात मल्लको मुहूर्त सटबाट छायांकन सुरु गरेको बताइन् । अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्मा बाहेक सबै कलाकारले सिनेमाको छायांकन सुरु गरेको जानकारी उनले दिइन् । अनुप अमेरिकाबाट फर्के पश्चात र आँचल ‘वर एण्ड वधु’ रिलिजपछि फिल्मको छायांकनमा जोडिने छन् ।

OM Sai Pathibhara Hospital

केही दिनमा काठमाडौंको छायांकन सकेर फिल्मको निर्माण टिम बाँकी छायांकनको लागि नवलपरासी पुग्ने छ । फिल्मको पहिलो चरणको छायांकन पनि नवलपरासीमा नै गरिएको थियो । ‘पिताम्बर’ निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय फिल्म हो । 

फिल्ममा सौगात र प्रदीपका अलवा दयाहाङ राई, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, बिशाल पहारीको अभिनय रहने छ । फिल्ममा अभिनेता आर्यन सिग्देल विशेष भूमिकामा देखिनेछन् ।

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन हुनेछ । फिल्मको निर्मातामा विशाल चौलागाई छन् । फिल्ममा प्रदीप भारद्धाजको लेखन रहेको छ ।