काठमाडौं । संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो ।

एसडी योगीको संगीत तथा सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा संगीतकार योगी र शान्तिश्री परियारको स्वर छ । गीतमा फिल्मका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरीसँगै अन्य कलाकारहरु फिचर्ड छन् । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी छ ।

OM Sai Pathibhara Hospital

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय फिल्म हो । डकुमेन्ट्री फिल्मबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय फिल्म महोत्सवबाट अवार्ड प्राप्त गरिसकेका छन् ।

फिल्मको निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्मातामा सुस्मिता बुढाथोकी छन् । फिल्ममा दिपक बज्राचार्यको छायांकन छ ।

फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।