काठमाडौं । यतिवेला ‘सक्किगोनि’ टिमले निर्माण गर्ने फिल्म ‘लाज शरणम्’को कलाकार छनोट र प्रि–प्रोडक्सनको काम धमाधम भैरहेको छ । फिल्ममा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने देखिएको छ ।

गत साउनमा फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेलको जन्मदिनको अवसरमा औपचारिक निर्माण घोषणा गर्दा फिल्ममा ‘सक्किगोनि’ टिमबाट सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), र कमलमणी नेपाल (खुपीका बाउ)को अभिनय रहने जानकारी दिइएको थियो । आफ्नो टिम बाहिरबाट मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बुको अभिनय रहने फाइनल थिए । 

OM Sai Pathibhara Hospital

त्यससँगै फिल्ममा निर्माण टिमले एकपछि अर्को कलाकार अनुबन्धित गर्दै गइरहेको छ । अहिलेसम्म फिल्ममा रामभजन कामत, बबिन राई (गल्फने बाजे), प्रियना आचार्य (मुन्नी) ‘सक्किगोनि’ टिमबाट र बाहिरबाट अभिनेता महेश त्रिपाठी र अभिनेत्री रेनु नाथ योगी अनुबन्धित भैसकेका छन् ।

यसैबीच फिल्ममा हरिष निरौला (कक्रोज) अनुबन्धित भएका छन् । निर्माण टिमले बिहीबार फिल्ममा कक्रोजको पनि अभिनय रहने जानकारी दिएको हो । यही भदौ तेस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्म फागुन १४ गते महाशिवरात्रीको अवसरमा नेपालभरका रिलिज हुनेछ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण हुने फिल्ममा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह–निर्माताको रुपमा रहेका छन् ।