काठमाडौं । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को बिहीबार सार्वजनिक ट्रेलर यतिबेला युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । हालसम्म ट्रेलरलाई १५ लाख बढी दर्शकले हेरिसकेका छन् । ट्रेलरमा ४७ हजार ‘लाइक’ र ५ हजार ३ सय बढी कमेन्ट छन् ।

फिल्मका कथाकार र निर्देशक सुदर्शन थापाले टिजर र गीतसँगै ट्रेलरमा प्राप्त प्रतिक्रियाले आफूहरु उत्साहित भएको बताए । ‘टिजर र गीतले हामीलाई जुन किसिमको हौसला दिएको थियो । ट्रेलर रिलिज पछि त्यसमा बढोत्तरी भएको छ । १९ घण्टामा १० लाख बढी दर्शक पाउनु भनेको अहिलेको अवस्थामा चानचुने कुरा होइन’, सुदर्शनले भने, ‘तीन वर्षमा हामीले जुन मेहनतका साथ फिल्म बनाएका थियौं । अहिले त्यो मेहनतले सार्थकता पाउँदै गएको छ ।’

OM Sai Pathibhara Hospital

एक्सनपूर्ण ट्रेलरमा प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको छ । ट्रेलरमा नायिका पुजा शर्मालाई पत्रकारको भूमिकामा देखाइएको छ । फिल्ममा नायक पल शाहले दोहोरो भूमिका निभाएका छन् । ट्रेलरको अन्तिम दृश्यमा दुई पलको द्वन्द्वलाई देखाइएको छ । दुई पात्रको द्वन्द्व पुजाकै कारण हुने भन्ने प्रष्ट देखाइएको छ ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।

फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।