काठमाडौं- सरकारले विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा आर्थिक वर्ष २०८१/८२ का लागि १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निणर्य गरेको छ ।
शुक्रबार मन्त्रीपरिषद् बैठकका निणर्य सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो कुराको जानकारी गराएका हुन् ।
त्यस्तै सरकारले आगामी भदौ ११ देखि १३ गतेसम्म उज्वेकिस्तान मा आयोजना हुने मल्टी डिमेन्सीनल प्रोभर्टी पेर नेटवर्क बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई स्वीकृति प्रदान गर्ने निणर्य गरेको छ ।
यसैगरी नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिव ५ बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निणर्य पनि गरेको छ ।
यस्तै ललितपुर महानगरपालिकालाई कोरियाको चिवर-गुन नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने निणर्य समेत गरेको जानकारी गराएको छ ।
मन्त्रीपरिषदका निणर्यहरु
नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिव ५ बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने ।
राष्ट्रिय सहकारी विकास बोर्डको रिक्त सदस्य-सचिव पदमा डा. खगराज शर्मा, रुपन्देहीलाई नियुक्त गर्ने ।
२०८१ कात्तिक २२ देखि २४ सम्म कोलम्बियाको बोगोटामा आयोजना हुने फस्र्ट ग्लोवल मिनिस्टिरियल अन इन्डिङ भायोलेन्स एगेनिस्ट चिल्ड्रेनमा सहभागी हुन माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति प्रदान गर्ने ।
काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनालाई मकवानपुर जिल्लामा करिव ३३ हजार ९७५ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने ।
२०८१ भदौ २७ र २८ मा ब्राजिलमा आयोजना हुने वान प्लानेट नेटवर्क फोरम, २०२४ कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण मन्त्रीलाई स्वीकृति प्रदान गर्ने ।
ललितपुर महानगरपालिकालाई गणतन्त्र कोरियाको चिवर-गुन नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।
सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका शर्तहरू पालना गर्नेगरी हटाउने ।
विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरी आ.व. २०८१/८२ का लागि १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने ।’