काठमाडौं- बंगलादेशलाई हराउँदै नेपाल समूह एको विजेता बन्दै यु-२० साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशमाथि २-१ गोलअन्तरको जित निकाल्दै नेपाल समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।
नेपाललाई जित दिलाउन समिर तामाङ र निराजन धामीले गोल गरे । यस्तै, बंगलादेशका मिरजुल इस्लामले एक गोल फर्काए । खेलको १७औँ मिनेटमा समिरले गोल गर्दै घरेलु टिम नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि खेलको १९औँ मिनेटमा निराजनले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।
खेलको ४३औँ मिनेटमा बंगलादेशका लागि मिरजुलले गोल गर्दै अग्रता २-१ मा झारेका थिए । तर, बाँकी समयमा गोल हुन नसकेपछि खेल नेपालले २-१ गोलअन्तरले जितेको हो ।
नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले हराएको थियो । नेपालसँगै समूह उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको बंगलादेशले पनि श्रीलंकामाथि २(० को जित निकालेको थियो ।