काठमाडौं- विपक्षी दलमा आवद्ध ७ विद्यार्थी संगठनहरुले विश्वविद्यालयहरुमा आतंक सिर्जना गर्नेहरुलाई कारबाही गर्न माग गरेका छन् ।
बुधबार एक विज्ञाप्ती जारी गर्दै त्रिभुवन विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरुमा पदाधिकारी र प्राध्यापकहरूलाई नै आतंकित पार्ने कार्य भइरहेकाले त्यस्ता घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।
उनीहरुले सरकार सञ्चालन गरिरहेका दलका निकट व्यक्तिहरू नै यस्ता कार्यममा संलग्न भएकाले त्यसको विरोधमा आगामी शुक्रबार किर्तिपुरमा विरोध प्रदर्शनको कार्यक्रमको पनि घोषणा गरेका छन् ।
'संयुक्त विद्यार्थी संगठनको तर्फबाट हामी त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार सरक्षित आतंक अविलम्ब बन्द गर्न, देशका सवै विश्वविद्यालयमा राजनितिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरुमाथि आक्रमण गर्ने गुण्डाहरुलाई पक्राउ गरी कडा कार्वाही गर्न विशेष माग गर्दछौं ।’ संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्वियूकी अध्यक्ष आरती लामा, नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चपाईं, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव, अखितल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।