काठमाडौं । गत शुक्रबारबाट नेपाली पर्दामा प्रदर्शनरत फिल्म बुलाकी दक्षिण एशिया भित्र प्रतिष्ठित मानिने श्रीलंकाको सिनेमा महोत्सव जाफना इन्टरनेशनल सिनेमा फेस्टिभल २०२४मा छनोट भएको छ । उक्त फेस्टिभल अन्तर्गतको उत्कृष्ट डेब्यू फिल्म प्रतिस्पर्धाको लागि यो फिल्म छनोट भएको हो ।

जाफना सिनेमा फेस्टिभलको दशौं संस्करण आगामी सेप्टेम्बरमा हुँदैछ । यो फिल्म प्रतिस्पर्धामा छनोट भएको उक्त अवार्ड गत बर्ष नेपाली फिल्म दि रेड सुटकेसले जितेको थियो । फिल्म निर्माता तथा अभिनेता विराज बिष्टले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै खुशी व्यक्त गरेका छन् ।

OM Sai Pathibhara Hospital

तन, मन, धन र ज्यान बाजी लगाएर गरिएको कामले कहिँ न कहिँ सार्थकता पाउने रैछ, श्रीलंकाको प्रतिष्ठित सिनेमा महोत्सवमा बुलाकी छनोट भएको खुशी साट्न पाउँदा हर्षित छु, बिष्टले लेखेका छन्, हाल नेपाली सिनेमा घरमा प्रदर्शनरत हाम्रो फिल्म अर्को हप्ताबाट अन्तर्राष्ट्रिय प्रदर्शनी थालनीको तयारीमा रहेको समेत जानकारी गराउन चाहन्छु ।

नेपाल सरकारबाट विशेष फिल्मको अवार्डबाट पुरस्कृत यो फिल्मले यसअघि नै देश तथा विदेशका विभिन्न प्रतिष्ठित अवार्ड समारोहहरूमा बाजी मारिसकेको छ । फिल्म हेर्ने समिक्षक तथा दर्शकबाट ुबुलाकीुलाई उत्कृष्ट प्रतिक्रिया प्राप्त भइरहेको छ । दोस्रो पटक प्रदर्शनमा आएको फिल्मले शुक्रबारबाट दोस्रो हप्ताको प्रदर्शनीको थालनी गर्दैछ ।

पश्चिम नेपालको कर्णाली र सुदूर पश्चिम भेगको सामाजिक कथा उठान गरेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । यो फिल्ममा बिष्टसँगै सुरक्षा पन्त, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायत प्रमुख अभिनयमा छन् ।