काठमाडौँ- नेपाल राष्ट्र बैंकले गत आव ०८०/८१ को वार्षिक औसत मुद्रास्फीति ५ दशमलव ४४ प्रतिशत रहेको जनाएको छ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्रै देखिएको उल्लेख छ। 

OM Sai Pathibhara Hospital

राष्ट्र बैंकका अनुसार गत आवमा आयात १ दशमलव २ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष (आव ०७९/८०) आयात १६ दशमलव १ प्रतिशतले र निर्यात २१ दशमलव ४ प्रतिशतले घटेको थियो।

गत आवमा विप्रेषण आप्रवाह १६ दशमलव ५ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोड रुपैयाँले बचतमा रहेको थियो। 

गत आवमा कूल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ। उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। यो अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको छ।

गत आवमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५ दशमलव ८ प्रतिशतले बढेको छ।  गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कूल निक्षेप ६४ खर्ब ५२ अर्ब रुपैयाँ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५० खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ।