काठमाडौं । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’ असोज ११ गते रिलिज हुने भएको छ । निर्माण टिमले नयाँ पोष्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । लामा सिनेमाको प्रस्तुतिमा तयार भएको फिल्ममा जोन योञ्जनको लेखन तथा निर्देशन छ ।

फिल्ममा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल, मोहन अभिलाषीलगायतको अभिनय छ । फिल्म ‘गाउँ आएको बाटो’बाट चर्चामा आएका बाल कलाकार प्रसन राईको पनि अभिनय छ ।

OM Sai Pathibhara Hospital

फिल्मको पोष्टर र मुख्य भूमिकामा स्मिता लामिछाने र आर के मेहता देखिन्छन् । लामिछानेले यसअघि ‘बाह्र सत्ताईस’, ‘म राजेश हमाल’लगायतका फिल्ममा अभिनय गरेकी छन् । मेहताको भने यो डेब्यू फिल्म हो । उनले यो फिल्मका लागि १५ किलो वजन घटाएका छन् ।

रंगमञ्चमा लामो समय सक्रिय मेहताले शिल्पी थिएटरमा जेसिमो बेटा भर्सन, कोमा, माझी पालाखे, नारी, के लाग्यो हाल्काले, एल्लो कमेडीजस्ता नाटकमा अभिनय गरेका थिए । उनी ‘हारजीत’, ‘वीच’, ‘जिउँदो आकाश’ नाटकका अभिनेता तथा निर्देशक पनि हुन् । उनले इटालीमा एकडेमिया डेल् आर्ते माफिजिकल थिएटरको डिप्लोमा गरेर त्यहाँ प्रशिक्षण पनि दिएका थिए । उनले नेपालमा मण्डला थिएटर, कान्तिपुर फिल्म एकेडेमी, एनएफडीसी, पिफिटमा पनि वर्कसप चलाइसकेका छन् ।

यो फिल्ममा जोनकै लगानी छ । फिल्ममा सह–निर्माताका रुपमा रेनुका कार्की रहेकी छिन् । ढाकाटोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्ममा आलोक शुक्लाको छायांकन छ ।

निर्देशक जोनले फिल्ममा आधुनिक समाजमा तल्लो वर्गको संघर्ष र बाँच्नका लागि मानिसहरू समयको कति लामो गहिराईसम्म जान्छन् भन्ने मार्मिक तथ्यलाई देखाइने बताए । ‘दुःख एक्लोपन जत्तिकै भयानक र त्रासपूर्ण हुन्छ, यही परिधि भित्रको रमाइलो कथा ‘आँखा’ हो’, उनले भने । निर्देशक योञ्जनले यसअघि ‘बाह्र सत्ताईस’ र ‘म राजेश हमाल’ निर्देशन गरिसकेका छन् । फिल्म ‘बाह्र सत्ताईस’ प्रदर्शन भएर पनि युट्युबमा आइसकेको छ भने ‘म राजेश हमाल’ प्रदर्शनको तयारीमा छ । उनी नयाँ फिल्म रोल नं. १ को निर्माणको तयारीमा छन् ।