काठमाडौं । निर्देशक मीनबहादुर भामद्वारा निर्देशित नेपाली फिल्म ‘साम्बाला’मा मुख्य पात्रको भूमिकामा अभिनय गरेकी कलाकार थिन्ले ल्हामोले स्वीजरल्याण्डमा आयोजित ७७ औं लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित “बोक्कालिनो डिओर” अवार्ड जितेकी छन् ।

साम्बाला फिल्मको मुख्य कलाकार थिन्लेले प्रतिष्ठित अवार्ड जितेको घोषणा गर्न पाउँदा फिल्म निर्माण पक्षले खुशी व्यक्त गरेको छ । निर्माण पक्षका अनुसार दक्षिण एसियाली कलाकारले पहिलो पटक यस प्रकारको सम्मान र ऐतिहासिक सफलता हासिल गरेको हो ।

OM Sai Pathibhara Hospital

‘यो अवार्ड जित्नु थिन्लेको उत्कृष्ट अभिनयको सम्मान मात्र नभई नेपालका प्रतिभाशाली र उदीयमान कलाकारका लागि समेत प्रेरणा प्रदान गर्ने महत्त्वपूर्ण क्षण हो । साथै, यो अवार्ड नेपाली कलाकारले जित्नुको अर्थ फिल्मको विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिने विश्वास हामीले गरेका छौं’, निर्माण कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

उसले यो सफलता नेपालका फिल्मकर्मी, हिमाली क्षेत्रका प्रेरणादायी, सवल र उर्जाशील महिला र विश्व समुदायप्रति समर्पण गर्न चाहेको जनाएको छ ।