काठमाडौं । फिल्ममा चरित्र निभाउन एउटा कलाकारले के गर्लान् ? स्क्रिप्ट पढ्लान्, समाज बुझ्लान् र चरित्रमाथि अनुसन्धान गर्लान् । आगामी भदौ ७ गतेबाट रिलिज हुने फिल्म ‘सतीदेवी’मा मुख्य पात्र सतीदेवी भूमिकामा देखिँदै गरेकी नायिका मलिका महतले चरित्र निभाउन के गरिन् भन्ने चासो हुनसक्छ । 

यो चासोमा उनको सहज उत्तर छ, ‘स्क्रिप्ट पढें, अरुणा लामाका गीत सुनें । गीत सुन्नै पर्ने कारण पनि छ । ‘फिल्मको कथा अहिले खोल्न मिल्दैन । तर मेरो जुन चरित्र छ, त्यो चरित्रका लागि मैले धेरै पटक अरुणा लामाको गीत सुनें । उहाँको गीत सुनिरहँदा आफूलाई सतीदेवीको स्क्रिप्टलाई दिमागमा सेट गर्दै गएँ’, मलिका भन्छिन् ।

OM Sai Pathibhara Hospital

मलिकालाई अभिनेता सौगात मल्लले फिल्मको तयारी गरिरहँदा गीत सुन्न सुझाव दिएका रहेछन् । ‘सतीदेवीका लागि आफूलाई क्यारेक्टरको फिल दिने गीतहरु खोजें । त्यो फिल दिने गीत अरुणा लामाका गीतमा मात्र पाएँ । ‘पोहोर साल खुशी फाट्दा’ गीतदेखि उहाँको सबै गीत सुनें । गीत सुन्दै, स्क्रिप्ट पढ्दै, त्यसलाई लेख्दै र संवाद बोल्दै तयारी गरें । मैले सतीदेवीको बायोग्राफी पुस्तक पनि भेटेपछि उहाँको जन्मदेखि अन्त्यसम्मको सबै कुराबारे जानकारी लिएँ’, उनी भन्छिन्, ‘पुस्तक पढ्दा पूर्णत सतीदेवीको रुप पाएँ । नोटबुक र स्क्रिप्ट बोकेरै हिँड्थे । राती सुत्नुअघि एकपटक रिभाइज गर्थें ।’

Malika 1

मलिकाका अनुसार ‘सतीदेवी’को स्क्रिप्ट उनको फिल्मी करियरमा आफूलाई सबैभन्दा बढी कनेक्ट गरेको स्क्रिप्ट रहेछ । ‘रमाइलो पुस्तक पढ्दा जुन किसिमको फिलिङ हुन्छ नि, अझै पढौं के हुन्छ जस्तो हुन्छ नि । सतीदेवीको स्क्रिप्टमा त्यही अनुभव गरें । किनकी यो स्क्रिप्ट सामाजिक सन्देशयुक्त थियो । स्क्रिप्टमा कुनै पनि नचाहिने संवाद, घटाउनु पर्ने, बढाउनुपर्ने अवस्था केही थिएन’, मलिका खुल्छिन् ।

मलिकाले सतीदेवीको जस्तो जीवन वास्तविकतामा भोगेकी छैनन् । तर  स्क्रिप्ट पढिरहँदा त्यो पात्रमा उनले आफूलाई नै समाहित गरिन् । ‘त्यो कथाभित्र नै आफूलाई पाए जस्तै भयो । मैले यो अवस्था नभोगे पनि त्यो पढिरहँदा मजाले मैले फिल गर्न सकें । त्यही कुरा कनेक्ट भयो’, उनी भन्छिन् ।

‘सतीदेवी’को सुटिङ गरिरहँदा मलिकालाई कैयौं पटक ‘ओहो ! यस्तो पनि हुन्छ ?’ भन्ने अनुभव भएको रहेछ । ‘मैले फिल्मको भन्दा डर लाग्दा घटना र कथाहरु सुनेको थिएँ, तर यतिसम्म भोगाई हुन्छ भन्ने अनुभव मैले अभिनयबाट थाहा पाएँ । म धेरै पटक भावुक पनि भएकी छु’, उनी भन्छिन्, ‘कसैको जीवनको वास्तविक घटनालाई मैले अभिनयमार्फत उतार्न पाउँदा आफूलाई भाग्यमानी ठानें । मैले कहिल्यै कल्पना नगरेको कुरालाई अभिनयमार्फत अनुभुत गर्न पाएँ । मैले देखेका र सतीदेवीले देखेका कुराहरु कति फरक रहेछ भन्ने धेरैपटक रियलाइजेसन भयो ।’ 

मलिकाको घरमा उनी, एक दाजु, एक भाई र बुवाआमा छन् । ‘मेरो घरमा सानैदेखि बुवाआमाले छोराछोरी समानको अवधारणामा लैजानुभयो । घरमा काम पनि बाँडेर नै गरिन्थ्यो । आज मैले गरें भने भोलि दाजुले, पर्सी भाईले गर्थे । अहिले पनि हामी त्यही रुटिनमा चल्छौं । म काठमाडौंमा हुर्किएँ, पढें । त्यसकारण फिल्मकी सतीदेवीले भोगेका कुरा चाहिँ वास्तविकतामा भोग्नु परेन’, मलिका सम्झन्छिन् ।

Satidevi Malika

‘सतीदेवी’को स्क्रिप्ट पढिरहँदा उनको लागि यो कथा गाह्रो र चुनौतीपूर्ण छ भन्ने लागेको थियो । तर उनी फिल्मका लागि सय नभई दुई सय प्रतिशत नै दिन तयार थिइन् । ‘मैले आधा काम स्क्रिप्टमै सकेको थिएँ । सुटिङमा गएपछि त्यो जीवन जिउनु जस्तो मात्र थियो’, उनी भन्छिन् ।

दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा लक्ष्मण सुवेदीको निर्माण, लेखन, गीत र निर्देशन छ । 

मलिकासँगै रमेश बुढाथोकी, भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, इभन जोशी, विमल श्रेष्ठ, दिपा मगर, तुलसीप्रसाद श्रेष्ठ र बाल कलाकारद्वय हर्षिका ओली तथा मञ्जिला बानियाँको अभिनय छ ।