काठमाडौं— संघीय संसद् अन्तर्गत दुई संसदीय समितिको सभापतिको निर्वाचनका लागि बुधबार प्रस्ताव दर्ता हुँदैछ। 

संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिको निर्वाचन कार्यक्रम अन्तर्गत प्रस्ताव दर्ता हुन लागेको हो। 

OM Sai Pathibhara Hospital

सभापतिमा निर्वाचित गरियोस् भन्ने भनी अर्को एक सदस्यको समर्थनसहित दिउँसो २ देखि ४ बजेसम्म नयाँबानेश्वर संसद् भवनस्थित महासचिवको कार्यकक्षमा प्रस्तावकले प्रस्ताव दर्ता गर्ने तालिका छ।  दर्ता भएका प्रस्तावको क्रमअनुसार अपराह्न साढे ४ बजे सूची प्रकाशित हुनेछ। 

बिहीबार दिउँसो ३ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा उल्लेख छ। 

प्रतिनिधिसभा निर्वाचन भएको करिब डेढ वर्षपछि ती समितिका सभापति चयन हुन लागेको हो। यसअघि संसदीय सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुँदै आएको थियो। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति गठन नै भएको थिएन।