काठमाडौं। देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ। उनको बायाँ तिघ्रामा गोली लागेको थियो र उपचारका क्रममा बायाँ खुट्टा काट्नुपरेको थियो।

यसअघि सोही घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै दिन मृत्यु भएको थियो भने देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो। रवीन्द्रको मृत्यु भएसँगै देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

घटनामा गोली लागेर घाइते भएका देवानगञ्ज–३ का १८ वर्षीय अमित यादवको काठमाडौं ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनीसँगै मिथिलेश मेहता, हरेराम यादव र अमलेश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा तथा सुनील मेहता, अमितकुमार यादव र अर्का सुनील मेहताको विराट नर्सिङ होममा उपचार जारी छ।

साउन १० गते भएको झडपमा प्रहरीले गोली चलाउँदा १० जना गम्भीर घाइते भएका थिए। घटनापछि सरकार र पीडित पक्षबीच सातबुँदे सहमति भएपछि दुई मृतकको शव घटनास्थलमै अन्त्येष्टि गरिएको थियो। यही घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो।