काठमाडौं। मंगलबार बिहान करिब ९ : ३० बजे लिपिङ क्षेत्रमा माथिबाट ठूलो पहिरो खस्दा अरनिको राजमार्गको सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। पहिरोसँगै सडकको केही भाग भासिएपछि सवारीसाधन आवतजावत पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार पहिरो हटाउने सामान्य प्रयासले मात्र सडक सञ्चालन सम्भव छैन। सडकको आधार नै कमजोर बनेकाले संरक्षण पर्खाल ९वाल० निर्माण गरेर संरचना मजबुत बनाएपछि मात्रै यातायात पुनः सञ्चालन गर्न सकिने अवस्था रहेको उनले बताएका छन्।

अरनिको राजमार्ग नेपाल–चीन व्यापारको प्रमुख जीवनरेखा मानिन्छ। यही सडक अवरुद्ध हुँदा चीनबाट आउने तथा नेपालबाट जाने मालवाहक कन्टेनर, अत्यावश्यक सामग्री बोकेका सवारीसाधन र यात्रु सबै बीच बाटोमै रोकिएका छन्। यसको प्रत्यक्ष असर उत्तरी व्यापार, आयात–निर्यात तथा स्थानीय आर्थिक गतिविधिमा परेको छ।

लगातारको वर्षासँगै पहाडी भूभागमा पहिरोको जोखिम बढिरहेका बेला यो घटना अर्को गम्भीर चेतावनीका रूपमा हेरिएको छ। सम्बन्धित निकायले पहिरो थप खस्ने सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेका छन्।