काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजु पाण्डे र नेपाली सेनाका एक सैनिकबीच गोकर्णमा भएको भनाभनले नयाँ राजनीतिक बहस सुरु गरेको छ। करिडोर विस्तारका क्रममा नेपाल ट्रस्टको जग्गाभित्र रहेको नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल भत्काउने विषयमा भएको विवादको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनालाई नेपाली सेनाले गम्भीर रूपमा लिएको छ।

भाइरल भिडियोमा सैनिकले पर्खाल नभत्काउन आग्रह गर्दै अनुमति पत्र मागिरहेका देखिन्छन्। तर सांसद पाण्डेले करिडोर विस्तार कानुनी मापदण्डअनुसार भइरहेको दाबी गर्दै डोजर नरोकिने बताएका छन्। उनले सरकारी मापदण्ड सबै निकायमा समान रूपमा लागू हुनुपर्ने भन्दै आफ्नो कदमको बचाउ गरेका छन्।

घटनापछि नेपाली सेनाले सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ। सेनाको उच्च स्रोतका अनुसार सैनिकसँग भएको व्यवहारलाई गम्भीर रूपमा हेरिएको छ।

यही घटनाकै बीच मंगलबार बिहान प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। प्रधानमन्त्री सचिवालयले भेट भएको पुष्टि गरे पनि छलफलको विषय सार्वजनिक गरेको छैन। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पनि भेटको एजेन्डाबारे आफूलाई जानकारी नभएको बताएका छन्।

यद्यपि विभिन्न स्रोतहरूले सांसद पाण्डेसँग जोडिएको विवादबारे प्रधानसेनापतिले प्रधानमन्त्रीसँग चासो व्यक्त गरेको दाबी गरेका छन्। तर यो विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन।

सांसद–सैनिक विवाद र त्यसलगत्तै भएको प्रधानमन्त्री–प्रधानसेनापति भेटले अहिले राजनीतिक तथा सुरक्षा वृत्तमा विभिन्न अड्कलबाजी जन्माएको छ। सम्बन्धित पक्षबाट औपचारिक धारणा आउने प्रतीक्षा भइरहेको छ।