काठमाडौं। सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा साउन १० गते भएको दुई समुदायबीचको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ। बायाँ तिघ्रामा गोली लागेका रवीन्द्रको उपचारका क्रममा बायाँ खुट्टा काट्नुपरेको थियो।
यसअघि सोही घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै र देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। रवीन्द्रको निधनसँगै देवानगञ्ज गोलीकाण्डमा मात्रै मृतक संख्या तीन पुगेको छ।
घटनामा घाइते भएका १८ वर्षीय अमित यादवको काठमाडौं ट्रमा सेन्टरमा उपचार भइरहेको छ। त्यस्तै मिथिलेश मेहता, हरेराम यादव र अमलेश मेहता न्युरो अस्पताल विराटनगरमा तथा सुनील मेहता, अमितकुमार यादव र अर्का सुनील मेहता विराट नर्सिङ होममा उपचाररत छन्।
साउन १० गते दुई समुदायबीचको झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा १० जना गम्भीर घाइते भएका थिए। घटनापछि सरकार र पीडित पक्षबीच सातबुँदे सहमति भएपछि दुई मृतकको घटनास्थलमै अन्त्येष्टि गरिएको थियो।
यही घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको पनि मृत्यु भएको थियो। यससँगै सुनसरी र सिरहामा भएको घटनामा ज्यान गुमाउनेको कुल संख्या चार पुगेको छ।






































