काठमाडौं । राष्ट्रिय राजनीतिमा नयाँ शक्ति समीकरणको संकेत देखिएको छ। जनार्दन शर्मा आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले मधेशकेन्द्रित दलहरूसँग मिलेर नयाँ राजनीतिक मोर्चा घोषणा गर्ने तयारी गरेको छ।
प्रलोपासँगै जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल लगायतका दल एउटै मोर्चामा आबद्ध हुने भएका छन्।
जनमत पार्टीका अध्यक्ष सीके राउतका अनुसार साउन २३ गते काठमाडौंको बैंकेट थापा गाउँमा विशेष कार्यक्रम आयोजना गरी संयुक्त मोर्चाको औपचारिक घोषणा गरिनेछ।
दलहरूबीच भएको शीर्ष तहको सहमतिपछि नयाँ मोर्चा गठनको निर्णय भएको बताइएको छ। आगामी राजनीतिक रणनीति, संघीयता, अधिकार र समसामयिक राष्ट्रिय मुद्दामा साझा धारणा बनाएर अघि बढ्ने उद्देश्यका साथ मोर्चा गठन गर्न लागिएको जनाइएको छ। नयाँ मोर्चाको घोषणासँगै राष्ट्रिय राजनीतिमा अर्को शक्ति ध्रुवीकरण सुरु हुने संकेत देखिएको छ।





































