काठमाडौं— नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलमा आज भुटानको पारो एफसीसँग खेल्दैछ। यो खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ। चर्च ब्वाइजमा नेपाली राष्ट्रिय टोलीका धेरैजसो सदस्य छन्।
चर्च ब्वाइजले झन्डै एक महिनादेखि यो प्रतियोगिताका लागि तयारी गरेको छ। पारो एफसीमा तीन पटक विश्वकप खेलिसकेका जापानका केइसुकी होन्डासहित ११ विदेशी खेलाडी छन्।
खेलअघि सोमबार भएको पत्रकार सम्मेलनमा चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टोलीबाट खेलेका खेलाडीबीच तालमेल मिलेको र यसले खेलमा प्रभाव ल्याउने बताएका छन्।
भुटानमा लिग खेलिरहेको पारो एफसी अहिले शीर्ष स्थानमा छ। पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले यसपटक राम्रो तयारी र बलियो टोलीसहित आए पनि खराब मैदानका कारण चुनौती बन्नसक्ने बताए।
पछिल्लो सिजन मच्छिन्द्र क्लबसँग नतिजा सुखद नभए पनि यसपटक आफ्नो टोली बलियो रहेको र चर्च ब्वाइजलाई राम्रो चुनौती दिने उनको विश्वास छ।