काठमाडौं–पेरिस ओलम्पिक २०२४ को पाराग्वेली स्विमर लुआना एलोन्साले ब्राजिलियन फुटबलर नेयमार जुनियरले आफूलाई इन्स्टाग्राममा प्राइभेट म्यासेज पठाएको खुलासा गरेकी छन् ।
पाराग्वेली रेडियो शो एयर डे टोडोससँग कुरा गर्दै २० वर्षीया एलोन्साले पूर्व ब्राजिल कप्तान आफ्नो ठूलो फ्यान रहेको उल्लेख गर्दै म्यासेज गरेको बताएकी हुन् । उनले के म्यासेज आएको भन्नेबारे खुलाउन चाहिनन् ।
अर्कोतर्फ, ब्राजिलियन स्टार नेयमार घुँडाको गम्भीर चोटका कारण साउदी प्रो लिगको अर्को सिजनको सुरुवात गुमाउने छन् । अल हिलालका प्रशिक्षकले मंगलबार यस्तो जानकारी दिएका हुन् ।
३२ वर्षीय नेयमारले गत नोभेम्बरमा ब्राजिलमा एन्टेरियर क्रुसिएट लिगामेन्ट र मेनिसकसमा चोट लागेपछि शल्यक्रिया गरेका थिए । नेयमारले २०२३ मा पिएसजी छाडेर अल हिलालमा अनुबन्ध भएका थिए । उनले साउदी अरबमा प्रति सिजन १०० मिलियन युरो पाउने जनाइएको छ ।