काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने फिल्मको २ मिनेट २४ सेकेण्ड लामो टिजरले मुख्य पात्र धिरज र उपासनको मिठासपूर्ण प्रेमभाव र माओवादी द्धन्द्वले गाउँमा पारेको प्रभावलाई प्रस्तुत गरेको छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय फिल्म हो । डकुमेन्ट्री फिल्मबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय फिल्म महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

OM Sai Pathibhara Hospital

फिल्मका निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर छन्, भने सह–निर्मातामा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।