काठमाडौं । भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देवी’को टिजर सार्वजनिक भएको छ । १ मिनेट ३० सेकेण्ड लामो टिजरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ ।

टिजरमा समावेश एक संवादले फिल्म केही वर्ष अघि सुदुरपश्चिममा घटेको नाबालिक १३ बर्षिय निर्मला पन्तको बलात्कारपछि हत्यामा आधारित रहेको बुझ्न सकिन्छ । 

OM Sai Pathibhara Hospital

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्म हो । सार्वजनिक प्रदर्शनका लागि यो फिल्म निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । फिल्ममा सन्जेन थापाको एक्सन छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । फिल्ममा जोएल फ्रोमको छायांकन छ । फिल्म मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।