काठमाडौं । एउटा फिल्मका लागि फस्टलुक, टिजर र ट्रेलर जस्ता प्रचारप्रसार सामाग्री महत्वपूर्ण हुन्छन् । अधिकांश निर्माताले फिल्मको टिजर र ट्रेलर कार्यक्रम गरेरै सार्वजनिक गर्छन् । ती कार्यक्रममा फिल्मका निर्देशक र कलाकारसहित प्राविधिक टिमको उपस्थिति प्रायः हुन्छ । 

तर अधिकांश कार्यक्रम निर्धारित समयमा सुरु हुँदैन् । त्यसको प्रमुख कारण स्वयम् कलाकार नै हुन्छन् । फिल्मका नायकनायिका सँगै कार्यक्रममा जाने योजना अनुसार ढिलो गरी कार्यक्रमस्थल पुग्छन् । उनीहरुलाई पर्खिनु सञ्चारकर्मी र पत्रकारका लागि बानी नै परिसकेको छ ।

OM Sai Pathibhara Hospital

शुक्रबार फिल्म ‘रावायण’को टिजर रिलिज कार्यक्रममा यस्तै देखियो । कार्यक्रमका लागि नायक पल शाह समयमा नै कार्यक्रस्थल पुगे । तर फिल्मकी निर्मात्री तथा नायिका पुजा शर्मा कार्यक्रमस्थलमा समयमा नै नआइपुग्दा त्यसको छटपटी पलमा प्रष्ट देखिन्थ्यो । 

व्यस्तताको हिसाबले पल नायिका पुजा भन्दा बढी व्यस्त छन् । उनी म्युजिक भिडियो, फिल्म र मेला महोत्सवमा उत्तिकै व्यस्त हुन्छन् । बुधबारमात्र पल डोल्पाको एक कार्यक्रममा उपस्थित भएर काठमाडौं फर्किएका थिए । आफ्नो व्यस्तताका बाबजुद पनि समय छुट्याएर आफू अभिनित फिल्मको कार्यक्रममा उपस्थित हुँदा कार्यक्रम सञ्चालकदेखि पत्रकार र सञ्चारकर्मीले उनको तारिफ नै गरेका थिए । 

कार्यक्रम हलमा पल पत्रकार र सञ्चारकर्मीसँगै बसेका थिए । उनी कहिले पत्रकारसँग पानी मागेर पिउँथे, त कहिले चिनेकालाई ‘नमस्कार’ गर्थे । पूजा आउन ढिला भएपछि कार्यक्रम सञ्चालकले टिजर प्रसारण गर्न हलवालालाई अनुरोध गरे । दुई पटक टिजर हेरिसकेपछि मात्र पूजा कार्यक्रमस्थलमा झुल्किइन् । आफ्नो कारण कार्यक्रम ढिलो भएकोमा उनको अनुहारमा हिनताबोध देखिएन । बरु उनकै आग्रहमा पुनः दुईपटक टिजर देखाइयो ।

टिजर हेरिसकेपछि मन्तव्यका क्रममा फिल्मका निर्देशक सुदर्शन थापाले कार्यक्रम ढिलो भएकोमा क्षमा मागे । तर उनकै छेउमा रहेकी पुजाका कारण कार्यक्रम ढिला हुन पुगेको भन्न सकेनन् । पुजा पनि के कम, उनले आफ्नो कारण ढिला भएकोमा उनले क्षमा माग्ने कुरै गरिनन् । बरु ‘अब रोएर फिल्म चल्दैन’ भन्दै आफ्नो विगतलाई सम्झिइन् ।

हरेकका लागि समय महत्वपूर्ण हुन्छ । तर त्यही समयलाई वेवास्ता गर्दा त्यसको असर अरुलाई पनि पर्छ भन्ने बुझ्ने हो कि पुजा जी ।