काठमाडौं । द एकेडेमी अफ मोशन पिक्चर आर्टस एन्ड साइन्सेसले सन् २०२५ मार्च २ तारिख आइतबारका दिन आयोजना गर्ने ९७औँ एकेडेमी अवार्डस (द अस्कर अवाडस) मा ‘विदेशी भाषी चलचित्र’ विधामा नेपाली फिल्मको लागि आवेदन खुला गरेको छ । 

विदेशी भाषी फिल्म छनोट समिति (नेपाल)ले विज्ञप्ती जारी गर्दै कार्तिक १५ देखि सेप्टेम्बर ३०, २०२४ (२०८१ असोज १४) सम्म सार्वजनिक प्रदर्शन गरिएका फिल्महरू योग्य हुने जनाएको छ । उसले २०२४ सेप्टेम्बर १२ तारिख अर्थात २०८१ भाद्र २७ गते दिनको ५ बजेभित्र समितिको सचिवालयमा दर्ता गराउन आव्हान गरेको छ ।

OM Sai Pathibhara Hospital

दरखास्तका साथमा सेन्सर गरिएको प्रमाणपत्र, हलमा रिलिज नभएर लाइसेन्स प्राप्त ओटीटीमा रिलिज भएको हो भने सोको प्रमाणपत्र, ३५ एमएम वा ७० एमएमको भिडियो वा २४–४८ फ्रेममा प्याकेज गरिएको भिडियो, यसै गरी  २०४८ देखि १०८० पिक्सेलसम्म प्रोजेक्टर रेजुल्युसन भएको भिडियो, ५.१ अथवा ७.१ मा उपलब्ध अडियो, निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइट) फिल्ममा देखाइएको क्रममा, अङ्ग्रेजी भाषामा सबटाइटल, अङ्ग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश, निर्देशकको फिल्मोग्राफी र फोटो, सम्बन्धित चलचित्रका ३ देखि ५ वटा स्थिर फोटाहरू, फिल्म रिलिज हुँदाको एउटा पोस्टर, चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्र घरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू लगायतका माथि उल्लेखित सम्पूर्ण विवरणहरूको डिजिटल कपीमा समेत उपलब्ध गराउनु पर्ने समितिको सूचनामा उल्लेख छ ।

फिल्म निर्माता तथा निर्देशक राजु केसी अध्यक्षतामा रहेको समितिमा छायाँकार मञ्जुकुमार श्रेष्ठ, फिल्ममेकर तथा फोटोग्राफर गौतम धिमाल, पत्रकार तथा लेखक जीवन पराजुली, फिल्ममेकर तथा कलाकार टोपेन्द्र बिस्ट तथा सचिव प्रोडक्सन डिजाइनर ऋतिका भट्टराई रहेका छन् ।