काठमाडौं— नेपालमा पोलियो मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ ।
प्रयोगशाला परीक्षणको नतिजाअनुसार पोलियो भाइरस पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।
वातावरणीय निगरानीको क्रममा काठमाडौंको टुकुचा बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको गौतमले बताए ।
टेकु दोवानबाट संकलन गिरिएको नमूना परीक्षण गर्दा पोलियो भाइरस टाइप ‘घ’ को जीवाणु भेटिएको हो ।
नेपालमा १३ वर्ष यता पोलियो भाइरस पुष्टि भएको थिएन।विश्व स्वास्थ्य संगठनले १० वर्ष अघिनै नेपाललाई पोलियो उन्मुलन घोषणा गरिसकेको छ।
डा. गौतमले उपत्यकाका (काठमाडौं, ललितपुर भक्तपुर) को आउने नदीको संगममा पोलियो जीवाणु भेटिएसँगै पोलियो विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको बताए ।
उपत्यकामा आगामी साउन ९ देखि १२ गतेसम्म पोलियो विरुद्धको खोप अभियान सञ्चालन गर्ने डा. गौतमले जानकारी दिए ।
जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो खोप खुवाउने उनको भनाइ छ।उनका अनुसार खोप स्वास्थ्यकर्मी र महिला समुदायिक स्वास्थ्य स्वंसेविका मार्फत घर घरमा दिइने छ ।