काठमाडौँ- सम्झना खड्काको सानदार ब्याटिङसँगै उत्कृष्ट फिनिसिङले नेपालले महिला एसिया कपमा विजयी सुरुवात गरेको छ।

ओपनर खड्काले ४५ बलमा ११ चौकाको मद्दतमा ७२ जोडेसँगै यूएईमाथि नेपालले विजयी गरेको हो। श्रीलंकामा भएको उद्घाटन खेलमा टस हारेर सुरुवाती ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो।

OM Sai Pathibhara Hospital

नेपालले सोही लक्ष्य १६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर जित निकाल्यो। नेपालका लागि अन्य ब्याटरले भने खास खुलेर खेल्न सकेनन्। 

पूर्वकप्तान रुबिना क्षेत्री १० रनमा आउट हुँदा ओपनर सीता राना मगर ७, कप्तान इन्दु बर्मा ६ बनाउँदा पूजा महतो ७ रनमा अविजित रहेर खड्कालाई साथ दिएकी थिइन्।

यूएईका लागि के इगोडागले ३ विकेट लिएकी थिइन्। यसअघि नेपालले घातक बलिङ  गर्दै यूएईलाई सस्तैमा समेटेको थियो। नेपालका लागि कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिएकी थिइन्। 

बर्माका अतिरिक्त नेपालका लागि सब्नम राई र  क्रितिका मरासइनीले समान १-१ विकेट लिएका थिए। 

युएईकी खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्। कविशा इगोडेज २२, समाइरा धरनिधर्क १३, कप्तान इशा ओजा १० रनमा आउट भए।