काठमाडौं— उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ ।
खेलको ३९ मिनेटमा गोल गर्दै जेफरसन लेर्माले कोलम्बियालाई अग्रता दिलाएका थिए । खेलमा अग्रता लिए लगत्तै पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डेनियल मुनोजले रातो कार्ड पाए । डेनियल मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो ।
१० खेलाडीमा सीमित कोलम्बियाले पुरै समय उरुग्वेलाई दबाबमा राख्दै फाइनल यात्रा तय गरेको हो ।
दोस्रो सेमिफाइनलको विजेता कोलम्बियाले अब फाइनलमा पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो सेमिफाइनलमा क्यानडलाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको हो ।
उरुग्वेमाथिको सननसनीपूर्ण जितसँगै कोलम्बियाले २८ खेलको अपराजित यात्रालाई कायम राखेको छ ।