काठमाडौं— जारी युरोकपमा स्पेन र फ्रान्स सेमिफाइनल प्रवेश गरेका छन् ।
पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो । गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा फ्रान्सले जित निकालेको हो। पोर्चुगललाई ५-३ गोलअन्तरले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो।
फ्रान्सका लागि औसमाने डेम्बेले, युसुफ फोफाना, जुल्स कौंडे, ब्राडली बारकोला र थियो हर्नान्डेजले गोल गरे भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बर्नाडो सिल्भा र नुनो मेन्डेसले गोल गर्दा जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो।
गएराति नै भएको युरोकपको अर्को खेलमा आयोजक जर्मनीलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनल प्रवेश गरेको छ।
निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका लागि माइकल मेरिनोले गोल गर्दै टोलीलाई जित दिलाएका थिए।
युरोकपको अहिलेसम्मको यात्रामा स्पेनले तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो ।
त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।त्यसैगरी यस युरोकपको आयोजक समेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ ।
जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो ।