काठमाडौं— कोलम्बियालाई बराबरीमा रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

लेभिस स्टेडियममा बुधबार सम्पन्न समूह डी को अन्तिम खेलमा ब्राजिलले शीर्ष स्थानमा रहेको कोलम्बियालाई १-१ गोलको बराबरीमा रोकेको हो। 

OM Sai Pathibhara Hospital

यस समूहबाट कोलम्बिया यो खेलअघि नै क्वार्टरफाइनलमा पुगिसकेको थियो। समूह विजेता बनेको कोलम्बियाले तीन खेलबाट अपराजित रहँदै सात अंक जोड्यो। अपराजित रहेको ब्राजिलले पनि समान खेलबाट पाँच अंक जोड्यो।

चार अंक जोडेको कोस्टरिका र अंकविहीन पाराग्वे प्रतियोगिताबाट बाहिरियो।

खेलको १२औं मिनेटमै राफिन्हाले फ्रिकिकमार्फत् गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए। 

तर, पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा जोन कर्डोबाको पासमा डेनियल मुनोजले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए। त्यसपछि कुनै गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडे।